कालिन्चोकको खर्कमा रमाउँदैछन् याक नाक । मनै लोभ्याउने सुन्दर याक र तिनका गलामा बाँधिएको घन्टीको आवाज, अहो निकै मनमोहक दृश्य । याक कहाँ यति सजिलै देख्न पाइन्छ । उच्च पहाडी र हिमाली क्षेत्रमा मात्रै देखिने याक नाक हामीले कालिन्चोकको कुरी भिलेज नजिकै फेला पार्यौं । साउने झरी, मध्यदिनको समय, घरी घरी हुस्सुले ढाकिन्छ वातावरण । याक नाक चर्दै खेल्दै गरेको दृश्यले हामी मोहित भयौं र खोज्न थाल्यौं यिनको कथा ।